स्थानीय तहलाई संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड्

भक्तपुर, १८ फागुन । स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने बताएका छन ।

रफत सञ्चार क्बल (शुक्रवार) गरेको साक्षत्कार कार्यक्रममा स्थानीय तहका जनप्रनिधिहिरुले संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार प्रदान गरे पनि कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे ।

जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले संविधानले जिल्ला समन्वय समितिलाई जिल्लामा भएका स्थानीय तहको अनुगमन, मूल्याकन र निरिक्षण गर्ने अधिकार प्रदान गरेको उनले बताए ।

उनले कतिपय जिल्ला समन्वय समितिको काम गर्न प्रदेश कानुनको आवश्यक्ता हुने भएकाले प्रदेश कानुन छिटो निर्माण हुनुपर्नेमा जोड दिए ।

नेपाल नगरपालिका संघका संयोजक अशोक ब्यञ्जुले स्थानीय तहमा कर्मचारीकै अभावमा सोचे जत्तिको काम गर्न नसकिएको स्पष्ट गरे । तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले पनि कतिपय स्थानीय तहका नगरसभा बस्दै गरेको र उक्त नगरसभाले कानून निर्माण गरेर काम गर्ने बताए ।

कुनै पनि नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति प्रमुखहरुले हस्तक्षेप नगरेको दाबी गर्दै केही नगरपालिकामा कानुन छ न्यायीक समिति छैन त कुनै नगरपालिकामा न्यायीक समिति बने पनि कानून निर्माण नभएको उनले बताए । अहिलेका स्थानीय तह नयाँ भएकाले क्रमिक रुपमा विकास हुँदै जाने उनको भनाइ छ ।

चित्रकला प्रतियोगिता सम्पन्न

चित्रकला प्रतियोगिता

भक्तपुर, १९ फागुन– नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको आयोजनामा “क्षयरोग नियन्त्रणमा मेरो दायित्व विषयक चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।

संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुरका ११ वटा विद्यालयका ३९ जना विद्यार्थीहरुले भाग लिएको जानकारी  कार्यक्रम संयोजक विजय कर्माचार्यले  दिनु भयो ।

ऐतिहासिक नगर भक्तपुरको दरबारस्क्वयरमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरु चेतनाका सम्वाह भएकोले चित्रमार्फत क्षयरोग सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गरिएको चित्रकला प्रतियोगिताको नतिजा फागुन २० गते सार्वजनिक गरिने र पुरस्कार र प्रमाणपत्र विश्व क्षयरोग दिवसको अवसरमा चैत्र १० गते हुने कार्यक्रममा प्रदान गरिने निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

– बाबुकाजी श्रेष्ठ

रंग, यौन र महिलालक्षित गीत गाउँदै मनाउँदै भक्तपुरमा फागु

फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए) सँगै शुरु भएको यसवर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोली धुमधामले मनाउँदैछन । बसन्त ऋतुको आगमनसँगै मनाईने फागु पर्व एक आपसमा रंग दलेर आपसका वैरभाव बिर्सेर खुसी साटासाट गर्दै मनाईने पर्व  हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ ।

 

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा भिमसेनको लिंगको प्रतिक तिन हात लामो र तीस ईन्च गोलाकारको लिंग आकारको काठ प्रदर्शनसँगै शुरु हुने फागुपर्वलाई विशेषगरी यौनरस युक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यंग गर्ने चाडको रुपमा बेग्लै रौनक र तरिकाले मनाउने गर्दछ । लिंगसँगै यौन समागमनको दृष्य झल्कनेगरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराईएको हुन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ भने यस दृष्यलाई भिमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइन्छ ।

 

भक्तपुरमा बिहानैदेखी टोलटोलबाट परम्परागत बासुरी बाजा, धिमेबाजा बजाउँदैं गीत संगितसहित महिला पुरुष एक अर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन । होलीका नेवारी परम्परागत लोकभाका र गितसंगीत पनि महिला र यौनसँग सम्बन्धीत रहेका छन । बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविदहरुको भनाईरहेको छ ।

 

होलीया मेला, मय्जू मस्युला ! अविर भचाः नः, तये मज्युला ! “होलीको बेला मायालाई थाहा छैन र, अविर अलिकति पनि राख्नु हुन्न र” अर्थको योे गित नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गित हो । नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात होली पर्व महिला लक्षित चाडको रुपमा व्याख्या गर्दछ । त्यसैगरी झ्या दकंः तुँकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात “झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न” भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाड पर्व भएको पुष्टि हुन्छ ।

 

“१७ औं शताव्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीहरुको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरस युक्त संगित गुञ्जने गरेको हो,” संस्कृतिकर्मी ओम धौभडेल बताउँछन । फागुमा यौन भावयुक्त गित गाउने प्रचलन भएपनि फागु पर्व अस्लिल पर्व भने नभएको उनको भनाई छ । उहाँले भन्नुभयो, “फागुलाई नितान्त साँस्कृतिक, विशुद्ध मनोरञ्जनपुर्ण र जिवन्त संस्कृतिको रुपमा लिनु पर्दछ ।” फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताउनुभयो ।

 

यसैगरी अर्का संस्कृतिविद् एवम् ईतिहासविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालमा समाज पुरुष प्रधानको रुपमा विकास भएसँगै महिलालाई श्रंगारको प्रतिकका रुपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गित संगित गुञ्जने गरेको बताउँछन । भक्तपुरको तचपालमा गाडिने चीरसँगै भिमसेन र द्रौपदीको यौन समागमनको प्रतिक स्वरुप काठको लिङ्ग र बीचमा प्वाल परेको रातो कपडा प्रदर्शनमा राखिनुले पनि होली महिला र यौन केन्द्रीत पर्व भएको पुष्टि हुने श्रेष्ठ बताउँछन ।

 

दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रंगाउने पर्वको रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने र बाजा गाजा सहित एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गर्ने परम्परा समेत रहेको छ ।

 

युगौंदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी विरंगी रंग एक आपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागुपर्वलाई युवापिढीले गरिने उत्श्रृङ्खल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वको रुपमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताए । “मदिरा सेवन गरे छाडा शब्द प्रयोग गर्ने, जबरजस्ती अरुलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वको रुपमा विकास भएको छ ।” उहाँले भन्नुभयोे ।

 

शास्त्रानुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रल्हादलाई केही हुँदैन । हिरणकश्यपुकी बहिनी होलीकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्नी देवले आगोले छुन नसक्ने वरदान दिएको थियो । यिस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्नीमा दहन गर्ने योजना  बनाउँछ । सो योजना अनुसार होलीका प्रल्हादलाई काखमा राखी अग्नीमा बस्दछ तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलीका जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको कथन रहेको पाईन्छ ।

 

भक्तपुरमा फागुपूर्णिमाको दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखे पछि यसवर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिंग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ । – लक्ष्मी गारु