चाँगुनारायण नगरपालिका अझैं बैंकिङ सेवा विहिन

भक्तपुर, २२ फागुन
राजधानीसँग जोडिएको भक्तपुरको चाँगुनारायण नगरपालिकामा हालसम्म कुनै पनि वाणिज्य बैंकको शाखा स्थापना नभएको नगरपालिका हो । नेपाल राष्ट्र बैंकले एक स्थानीय तहमा कम्तीमा एक वाणिज्य बैंक खोल्ने नीति लिएपनि काठमाडौं उपत्यकाकै स्थानीय तहमा बैंक पुग्न सकेको छैन । भक्तपुरका अन्य तीनवटा भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा भने विभिन्न बैंकका शाखाहरु कार्यरत छन । मध्यपुर थिमि नपाले हालै नपा परिसरमा नै नेपाल बैंकको शाखा स्थापना गरी कारोवार गर्ने तयारी थालेको छ ।

चाँगुनारायण नपा जिल्लाकै सबैभन्दा बढी ग्रामिण भेग समावेश भएको स्थानीय तह हो । यस नपाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायतका बासिन्दाहरुलाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असजिलो हुँदै आएको छ । जिल्लामा भएका बैंकहरु शहर र सुगम स्थानमा मात्र केन्द्रीत हुँदा चाँगुनारायणका स्थानीयलाई सहकारी मार्फत आर्थिक कारोवार गर्नुपर्ने बाध्यता रहेको छ । अझ अहिले विकास निर्माण योजनाको पहिलो किस्ता निकाल्ने समयमा आफ्नै नगरपालिकामा बैंक नहुँदा छिमेकी नगरपालिकामा भएको बैंक धाउन उपभोक्ताहरु बाध्य छन ।

घर नजिक बैंक नहुँदा सहकारीबाट महँगो व्याज दरमा ऋण लिनुपर्ने बाध्यता रहेको ताथलीका स्थानीय मोहनकुमार छुंकाले बताए । बैंक टाढा हुँदा आफुसँग भएको नगद जम्मा गर्न जाँदा पनि असुरक्षित महसुश हुने गरेको अनुभव सुनाउँदैं उनले भने, ‘झन अहिले सरकारले १० लाख भन्दा बढीको आर्थिक कारोवार बैंक मार्फत गर्नुपर्ने व्यवस्था गरेपछि थप समस्या भएको छ ।’

बैंकको खाता खोल्न र आफ्नै खातामा भएको रकम झिक्न पनि एक दिनको समय खेर जानेगरी कमलविनायक वा सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको नगरकोटका धनबहादुर लामाले बताए । धेरै रकम लिएर हिँड्नु पर्दा हराउने र लुट्ने डर हुने गरेको उनले भने ।

चाँगुनारायण नपामा नगरकोट र चाँगुनारायणजस्ता विश्व सम्पदा सुचीकृत पर्यटकिय क्षेत्र रहेको छ । त्यसैगरी ठूला ठूला अस्पताल र कलेजहरु समेत रहेको छ तर बैंक भने स्थापना हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले रु १० लाख देखी माथिको आर्थिक कारोवार बैंक र चेक मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सम्पत्ती शुद्धिकरण आयोगले पनि १० लाख रुपैंया देखी माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ । नपाभित्र बैंक नहुँदा चाँगुनारायण नपाले आफ्नो आर्थिक कारोवार समेत अन्य नपामा रहेको बैंक मार्फत गरिरहेको छ ।

चाँगुनारायण नपाको आर्थिक कारोवार भक्तपुरको कमलविनायकस्थित माछापुच्छ«े, नेपाल बैक र कैलाश विकास बैक मार्फत भैरहकेको नपा प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए । उनले नपामा बंैक सेवा ल्याउनका लागि माछापुच्छे, प्रभु, सानिमा र एनएनबि र नेपाल बैंक लगायत १० वटा बैंकहरुमा पत्राचार गरी पटक पटक छलफल भएपनि बैंक आउन नमानेको बताए । उनले चाँगु नपा अन्र्तगत दुवाकोटमा एनआईसी एसिया बैंकको शाखा बिस्तार हुन लागेको जानकारी दिए । ‘एउटा स्थानीय तहमा एउटा बैंक हुनुपर्ने नीति अनुसार नेपाल बैंकलाई ल्याउने पहल भएको हो तर चाँगु नपा र कमलविनायकको नेपाल बैकको शाखाको दुरी १ किलो मीटर मात्र फरक भएकाले आउन मानेन ।’ उनले भने ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार भक्तपुरमा २६ वाणिज्य बैंकहरुका ४५ वटा शाखा रहेका छन जसमध्ये कृषि विकास बैंकको ४ र राष्ट्रिय वाणिज्य बैंक, बंैक अफ काठमाडौं, नेपाल क्रेडिट एण्ड कमर्श बैक, एन आइसी एसिया र प्रभु बंैकका तीन वटा शाखा रहेका छन । त्यसैगरी नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन, माछापुच्छे«, सिद्धार्थ, सिटिजन्स बैंक इन्टरनेशनलका दुई दुई शाखा तथा नविल, एस वि आई, नेपाल बंगलादेश, एभरेष्ट, लक्ष्मी, ग्लोबल आइ एम ई, प्राइम कमर्सियल, सनराइज, एन एम वि, मेघा, जनता, सिभिल, सेन्चुरी कर्मसियल, सानिमा बैंकका एक एक शाखा रहेका छन । भक्तपुरमा रहेका बंैकहरु सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रीत छन भने अरनिको राजमार्ग अन्तर्गत लोकन्थलीदेखी सूर्यविनायक खण्डमा चोकैपिच्छे बैंकका शाखाहरु रहेका छन । पछिल्लो समय सल्लाघारी पनि बैंकिङ क्षेत्रको हबको रुपमा विकास भईरहेको छ ।
– लक्ष्मी गारु