मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस – नगरप्रमुख र उपप्रमुखको छुट्टाछुट्टै कार्यक्रम

भक्तपुर । आपसी टकरावका कारण मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन । नगरप्रमुख मदनसुन्दर श्रेष्ठ नेतृत्वले मध्यपुर थिमि–४, बालकुमारीबाट -यालीसहित चपाचोमा सम्मान कार्यक्रम गर्दै स्थापना दिवस मनाए भने उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वको टोलीले नेपाल कोरिया मैत्री अस्पतालमा फलफुल वितरण गरी स्थापना दिवस मनाए ।

नगरप्रमुख नेतृत्वको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु मध्ये वडा नंं. ५ र ७ का वडाअध्यक्षको सहभागिता रहेको थियो भने उपप्रमुख नेतृत्वको कार्यक्रममा नगरका १, २, ३, ४, ६ र ९ वडाका वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु र बहुमत वडासदस्यहरुको सहभागिता रहेको थियो ।

मध्यपुर थिमि नपामा नगरप्रमुख श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन भने उपप्रमुख मधिकर्मीसहित बहुमत वडाअध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरु नेपाली कांगे्रसबाट निर्वाचत भएका हुन ।

२१ औं हो की २२ औं तत्कालिन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेसहित पाँच गाविस समायोजनगरी २०५३ चैत्र १४ गते मध्यपुर थिमि नगरपालिका घोषणा गरिएको हो । मध्यपुर थिमि नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउनेक्रममा २०७१ सालमा १९ औं स्थापना दिवससँगै साक्षर नगर घोषणा गरिएको थियो । त्यसैगरी नपाले २०७२ सालमा २० औं, २०७३ सालमा २१ औं स्थापना दिवस मनाएको थियो ।

तर बुधवार नपाको स्थापना दिवस मनाउने क्रममा उपप्रमुख मधिकर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा २२ औं उल्लेख गरिएको थियो भने चपाचोमा आयोजित कार्यक्रममा २१ औं उल्लेख गरिएको छ ।

परम्परागत वाद्यवाधन र नाचका गुरु सम्मानित
चपाचोमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले नगरका विभिन्न परम्परागत वाद्यवाधन, ऐतिहासिक नाचका गुरुहरु सहित संस्कृतिकर्मीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा मध्यपुर थिमिका सांस्कृतिक धरोहर एवम् वाद्यवाधन तथा नाच गुरु श्रीगोपाल प्रजापति, भक्तबहादुर घजू, काजी नरसीं कौडी, बुद्धिकुमार राजबहाक, अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, जगतकृष्ण चरीशंकर श्रेष्ठ, बुद्धिकुमार सिपाही, नारायणभक्त धौबञ्जार रहेका छन । त्यसैगरी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका बुद्धिकृष्ण बाग श्रेष्ठ, संस्कृतिकर्मी गणेशराम लाछी, सहकारीविज्ञ कैलाशभक्त प्रधानांग, पूर्व विशिष्टश्रेणीका कर्मचारी भानु आचार्य, नगरस्थापना गर्न अभियान चलाउने नविनप्रकाश श्रेष्ठलाई समेत उनीहरुको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

नगरप्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप
पछिल्लो समय मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरु आरोप प्रत्यारोपमा उत्रेका छन । नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रमुख मदनसुन्दर श्रेष्ठले एकलौटी र स्वेच्छाचारी ढंगले नपा सञ्चालन गरेको आरोप लगाएका छन । उनले आज नपाको प्रांगणमा पत्रकार सम्मेलन गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कार्यपालिकाको नियमित बैठकबसी बैठकको निर्णय अनुसार नपा सञ्चालन गर्नुपर्नेमा प्रमुखले बैठक समेत नराखी एकलौटी र मनोमानी ढंगले नपा सञ्चालन गरेको आरोप लगाउँदैं नगरप्रमुखको नेतृत्वमा भएको स्थापना दिवस समेत बहिष्कार गरेका छन । उनले भने, ‘नपाको स्थापना दिवस मनाउने र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमका लागि समेत नगरप्रमुखले कार्यपालिकामा छलफल समेत गर्नुभएन । उहाँले एकलौटी ढंगले निर्णय गर्नुभयो । त्यसमा हाम्रो आपत्ती छ । त्यसैले हामीले त्यो कार्यक्रम बहिष्कार गर्दै अस्पतालमा फलफुल वितरणको छुट्टै कार्यक्रम राखेका हौं ।

यता चपाचोमा आयोजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले बहुमतको दम्भ सह्य नहुने बताए । उनले भने, ‘जनताको पक्षमा काम गर्न बहुमतले रोक्न खोजे त्यसलाई जनताको बीचमा नै ल्याउँछौं ।’ उनले बैठक बसौं भन्दा नमानेकोले एक्लै निर्णय गरेर कार्यक्रम आयोजना गरेको दावी समेत गरे । उनले भने, ‘स्थापना दिवसको बारेमा छलफल गरौं भन्दा उहाँहरुले मान्नु भएन त्यसैले कर्मचारीसँगको छलफलमा कार्यक्रम तय गरेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *