गणेश र चन्द्रमाको पुजा गर्दै चथाः मनाउँदै नेवार समुदाय

गणेश

भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा शुक्रबार नेवार समुदायले धुमधामका साथ चथाः पर्व मनाउँदैछन्। गणेश चतुर्थीले समेत परिचित आजको दिन नेवार समुदायले गणेश र चन्द्रमाको पुजा गरी जीवनमा चोर दोष नलागोस भन्ने कामना समेत गर्दछन्।


चतुर्थीको दिन नेवार समुदायले बिहानै घर चोख्याएर गणेशको पुजा गर्दछन्। भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको दिन गणेशलाई दुवो, लड्डु र मुला चढाईन्छ। यसो गर्दा भगवान गणेश खुसी हुने र जीवनमा चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ।


यस दिन बेलुका नेवार समुदायले चथा गणेश र चन्द्रमाको पुजा गर्ने परम्परा रहेको छ। पूजामा गणेशलाई दशै चढाउने फलफुल, मिठाई, लगायतक आठ थरिका भुटेका गेडागुडी चढाइन्छ। घरका सबैजना बसेर ती सबै चढाएका खाद्यवस्तु प्रसादको रुपमा खाने चलन रहेको छ। प्रसाद खाईसकेपछि परिवारका सबै जना सदस्यहरु लाइनले बसेर दशै भित्र्याउने भनी सगुन सहितको भोज खाने परम्परा छ।


नेवार समुदायमा चन्द्रमाको पुजा गर्ने दुई वटा परम्परा रहेको छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घर भित्र छिर्न नसक्ने गरी लुकेर पुजा गर्ने गर्दछन्। अर्को थरी समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र चथा पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ।

राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।


पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन्। गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो। त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो। यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो। त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे। चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखी भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए।


गणेशले राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ।


आज कै दिन ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट ल्याईन्छ। लिंगेवनमा विधिपूर्वक बोकालाई पुजा गरी छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनु पर्ने परम्परा रहेको छ।

सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ। भक्तपुर नगरपालिकाले नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा सुग्घर बनाउने उद्देश्यले ३० जना सफाई मजदुरलाई १० दिने सो तालिम प्रदान गरेको हो।

तालिममा नगरप्रमुख सुनिल प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन सम्बन्धी परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने जानकारी दिए। उनले भक्तपुर जिल्लालाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी बताए।

दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुरहरु नगरको फोहर व्यवस्थापनमा क्रियाशील रहेको बताउँदै, प्रमुख प्रजापतिले भने, “भक्तपुरलाई अझ सफा सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यस विधि थप मदत पुग्नेछ।”

प्रमुख प्रजापतिले नगरको फोहर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा हाल आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई गन्ध नआउने गरी कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने लक्ष्य रहेको जानकारी दिए।
प्रमुख प्रजापतिले भक्तपुर कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएकाले कुहिने फोहरलाई मलको रुपमा परिणत गर्दा यहाँका किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गरे।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढंगले कुहिने फोहरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँहरुको अध्ययन अवलोकन पश्चात रिकीसी विधि अपनाउने प्रयासमा रहेको बताए।

कार्यक्रममा रिकीसी कम्पोष्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रुपमा परिचित गर्न फोहरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष एवम् वातावरण समितिका सदस्य महेन्द्र खायमली र भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।

भक्तपुरका महादेव मन्दिरमा भक्तजनको घुइँचो

हरितालिका तीजको अवसरमा आज भक्तपुरको विभिन्न स्थानका महादेव मन्दिरहरुमा दशनार्थीहरुको घुईंचो लागेको छ। विशेषगरी दत्तात्रय, केदारनाथको शिर डोलेश्वर, दरवार स्क्वायरको पशुपति मन्दिर, आशापुरी र यातु महादेव मन्दिरमा भक्तजनको विशेष घुईंचो लागेको हो।


तीजको दिन महिलाहरु रातो पहिरण, छड्के तिलहरी र विभिन्न गरगहनाले सजिएर निराहार व्रत बसी महादेव मन्दिर आउने गर्छ। आजको दिन महिलाहरु व्रत बस्नाले अटल सौभाग्य र सदासर्वदा भरिभराउ, श्रीमान् र परिवारजनको सुस्वास्थ्य दिघायू हुने जनविश्वास रहेको पाइन्छ।


पार्वतीले भगवान् शिव वर प्राप्त होस भनी मनोकांक्षा राखेर तीजको व्रत बसेपछि तीजको चलन आएको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिए।

औपचारिकता पूजामा सीमित गरी मनाइदै भक्तपुरको पञ्चादान पर्व

भक्तपुरः बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण एवं ठुलो पञ्चदान पर्व आइतबार सामान्य औपचारिक पूजामा सीमित गरी मनाइएको छ । बढ्दो कोभिड संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आइतबार मनाइने पञ्चदान पर्वलाई सामान्य औपचारिक पूजामा सीमित गरी मनाइएको हो ।

पञ्चादान पर्व

पञ्चादन पर्व मनाउन दिपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याई नगर परिक्रमा गराए बढी भीड भई संक्रमण चाँडै फैलन सक्ने खतरा बढेकाले बिहारभित्रै पूजा गरी मनाउन लागेको प्रसन्नशील महाबिहारका शशीरत्न शाक्यले बताएका थिए । उनले भने, ‘आजको पर्वमा दिपंकरबुद्धलाई बाहिर ल्याए भक्तपुरका सबै पूजा दान गर्न आउँछन् त्यसले गर्दा भिड बढी हुने भएकाले संक्रमणको बढ्दो उच्च जोखिम हुन्छ । त्यसैलाई ध्यानमा राखेर यसवर्ष पनि गएको वर्षमा जस्तै सामान्य औपचारिकतामा सीमित गरिने निर्णय गरेको हो ।’


विषेशगरी बौद्धधर्मावलम्बीहरुले मनाउने यस पर्वमा भक्तपुरका पाँच दिपंकर बुद्धले परिचित क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारका बुद्धहरुलाई विहारबाट बाहिर ल्याएर सूर्यमढी डबलीमा राखिने परम्परा छ ।

त्यहाँ भिक्षा ग्रहण गरिसकेपछि पाँच दिपंकर बुद्धलाई नगर र नगरका विभिन्न गल्ली गल्ली परिक्रमा गराई भिक्षा दान लिने परम्परा रहेको छ । अन्तमा साकोथाको चर्तुब्रम्ह महाविहारमा पुगेपछि पाँच दिपंकर बुद्धहरु छुट्टिएर आ–आफ्नो महाविहारमा फर्किने प्रचलन रहेको छ ।

बौद्ध धर्मालम्बीको धार्मिक विधि अनुसार पूजाआजा गरी पाँच दिपंकर बुद्धहरुलाई विशेष गरी पञ्च दानका रुपमा धान, चामल, गहुँ, हरियो केराऊ र ढिके नुन दान दिने प्रचलन रहेको छ ।


पञ्चदानलाई स्थानीय भाषामा पंजरां भनिन्छ । पंजरां भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न, तरकारी र फलफुल लगायत पाँच प्रकारका वस्तु दान गरिन्छ ।


पूजामा धुप, दीप, गन्ध र रस, भोजन सामाग्रीमा धान, चामल, गहुँ, क्वाटि, केराउ, मास आदि, पेय पदार्थमा सख्खर पानी , सिसाफल, (फलफुल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक), दतिवन आदी दान गर्ने परम्परा रहेको छ ।