पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न

भक्तपुरः ईन्द्रजात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ। पुलुकिसी जात्रासँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ। स्थानीय लाकुलाछें टोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर कुमाले टोल, बुलुचा, नासमना, बंशगोपाल, इटाछे, दरवारस्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका लगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ।

भक्तपुरको लाकुलाछें टोलका स्थानियले बा“सको मान्द्रो माथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी पुलुकिसी तयार गरिन्छ। जात्रा सुरु गर्नु अघि तमारीको आकाश भैरवलाई बली सहितको सरकारी पुजा गरिन्छ। पुजा सम्पन्न भएपछि पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसी भित्र घण्टा बजाएर आकाश भैरव मन्दिर अगाडी तीन पटक घुमेर जात्रा सुरु गरिन्छ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई बंशगोपाल, ईटाछें, चोछें, भोलाछें लगायतका दोबाटो चौबाटोमा धान खुवाउने, तमारी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ। जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ।

त्यसैगरी आज पुलुकिसी जात्रासँगै भक्तपुर तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा समेत गरिन्छ। खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर गुठी संस्थाबाट भैरवलाई विधिवत रुपमा बली सहितको पूजा गरी खट जात्रा सुरु गरिन्छ। जात्रासँगै स्थानिय तल्लो टोलको मानंन्धर समुदायले बुलुचा स्थित धुङगेधारामा एक जोडा याँमता (आकाश दिप) बाली तीन दिन मनाईने मूपात्र जात्रा समेत सम्पन्न गरिन्छ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ।

देवीपुराण गन्थ्र अनुसार इन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइने गरेको इतिहास सँस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

यो पनि पढ्नुहोस् :

भक्तपुरमा मुपात्र जात्रा | पुलुकिसी जात्रा प्रचलन सम्बन्धी एक चिनारी

भक्तपुरमा मुपात्र जात्रा | पुलुकिसी जात्रा प्रचलन सम्बन्धी एक चिनारी


भक्तपुर : यन्या पुन्हीको अवसरमा आठ दिन मनाईने ईन्द्रजात्रा अन्तर्गत भक्तपुरमा मुपात्र जात्रा पनि एक हो। प्रत्येक वर्ष आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाईने यो जात्राको मुख्य आकर्षण मुपात्र जात्रा हो। मुपात्रलाई राक्षसका रुपमा लिने भएकाले यसलाई स्थानीयहरुले राक्षस जात्राको रुपमा समेत लिने गर्दछ।

जात्रामा एक जना मुपात्र र धिःचा नामक अन्य दुई जना सहायक गरी तीन जना राक्षसको सहभागिता रहन्छ। जात्रामा तीनै जनालाई राक्षसको जस्तो पोशाक लगाउन दिई अनुहारमा विभिन्न रङ्गको श्रृगांरपटारका साथ तरवार समात्न लगाई भक्तपुर नगर पुरै परिक्रमा गराउने प्रचलन छ। नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोल टोलमा ठड्याइ राखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरवारले हान्ने गर्दछ। यसको अर्थ जात्राको पहिलो दिन टोल टोलमा बाँधेर राखेका यमःद्योलाई छुटाउन क्षमा याचना सहित उसलाई बाँधेको डोरी काटेको भन्ने बुझिन्छ।

मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिर अगाडि त्रिशुल आकारको एक जोडा याँमता (आकाश दिप) बाली तचपालस्थित सँला गणेशलाई खटमा राखिन्छ। गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ। त्यसपछि मुपात्र जात्रा मनाइन्छ। जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँहरुमा परिक्रमा गराइन्छ।

जात्राको दोस्रो दिन बेलुका गोमारी (गोल्मढी) को मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ। यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना (सुकुन्दा) बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ। याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरवार स्क्वायरको तलेजु भवानीको दर्शन गराउन लगिन्छ। याँमता दरवार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराईन्छ। सोही राती सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याईन्छ।

जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन तमारी (तौमढी) मा रहेको आकाश भैरवको गुठी संस्थान कार्यालयबाट विधिवत रुपमा बली पुजा गरिन्छ। पुजा सकिएपछि तल्लो टोलहरु तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछ। त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ। बालीसकेपछि याँमतासँगै त्यसको पछाडी तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ। यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ।

भैरवको खट जात्रा गरेपछि स्थानिय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ। तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा सुरु गरिन्छ। यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ।

ईन्द्रजात्रा द्धापरयुगदेखि सञ्चालन भएता पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको सँस्कृतिकर्मीहरु बताउँछन्।

लोककथन अनुसार देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ ग¥यो। त्यसपछि जयन्तलाई दुई हात पछाडी बँँँंाँधेर राख्यो। पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरु वीच सङ्गग्राम भई देवताको जित भएको खुशियालीमा यो जात्रा मनाउदै आएको किवंन्दती रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए।


जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ। सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ। त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ।