सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ। भक्तपुर नगरपालिकाले नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा सुग्घर बनाउने उद्देश्यले ३० जना सफाई मजदुरलाई १० दिने सो तालिम प्रदान गरेको हो।

तालिममा नगरप्रमुख सुनिल प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन सम्बन्धी परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने जानकारी दिए। उनले भक्तपुर जिल्लालाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी बताए।

दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुरहरु नगरको फोहर व्यवस्थापनमा क्रियाशील रहेको बताउँदै, प्रमुख प्रजापतिले भने, “भक्तपुरलाई अझ सफा सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यस विधि थप मदत पुग्नेछ।”

प्रमुख प्रजापतिले नगरको फोहर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा हाल आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई गन्ध नआउने गरी कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने लक्ष्य रहेको जानकारी दिए।
प्रमुख प्रजापतिले भक्तपुर कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएकाले कुहिने फोहरलाई मलको रुपमा परिणत गर्दा यहाँका किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गरे।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढंगले कुहिने फोहरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँहरुको अध्ययन अवलोकन पश्चात रिकीसी विधि अपनाउने प्रयासमा रहेको बताए।

कार्यक्रममा रिकीसी कम्पोष्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रुपमा परिचित गर्न फोहरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष एवम् वातावरण समितिका सदस्य महेन्द्र खायमली र भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *