

विधि विधानको माध्यमबाट मानव शरीरमा विधिवत देवत्व प्रतिष्ठापित गरी नाचिने भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा देवगणको ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) नगरका विभिन्न भागमा प्रदर्शन भईरहेको छ । माघे संक्रान्तिको भोलीपल्ट भक्तपुर सुर्यमढीमा पहिलो प्रदर्शनसँगै हुरु हुने यो जात्रा करिव साँढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा र त्यसपछि भक्तपुर बाहिरका काठमाडौं बागेश्वरी, मध्यपुर थिमि, बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, टोखा, नालालगायत विभिन्न स्थानमा यो जात्रा प्रदर्शन गरिन्छ ।
नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छ । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः(महालक्ष्मी को प्रतिक) भनिन्छ । यो नाचमा देवगणले भैरव(कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ ।
नवदुर्गा देवगणका नकीं गणको मुख्य नाईकेको रुपमा रहन्छ । उसले देवगणलाई घर भित्र्याउने र घर बाहिर पठाउनेदेखी लिएर मानिसको जन्मदेखी मृत्युसम्मको संस्कार चलाउने र सिकाउने गर्दछ । त्यसैगरी महापात्रलाई त्रिपुरासुन्दरीको प्रतिकको रुपमा लिईन्छ । महापात्र नवदुर्गा देवगण नाचमा सबै दैत्यहरुको संघार गरी रगत थाप्ने विषेश खालको पात्रको रुपमा समेत रहेको छ ।
यो नाचमा मु बाहाको रगतमा चिउरा राखेर बनाएको धौवजी देवगणले ग्रहण गर्छ । नवदुर्गा नाचमा यो विधि भैरव र महाकालीले गर्छ । त्यसकारण उनीहरु गणमा आमाबुबाका रुपमा पनि लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा घरकी छोरीको रुपमा रहेकी कुमारीलाई भने दिँदैन ।
विषेशगरी यो नाचमा निम्न नाचहरु प्रर्दशन गरिन्छ ।
प्रारम्भिक नाच ः प्रारम्भिक नाच भैरबनाथ देवताबाट शुरु गरिन्छ । गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मासांहारी जस्ता विषयवस्तुहरुमा नाच प्रर्दशन गरिन्छ । भैरब नाच देवताको मूल नाइकेको रुपमा मानिन्छ । भैरबको बाहुलीबाट पूजा गर्ने, बलि दिने देखाइन्छ । समयबजीका साथ बलिको रुपमा मू बाहा( सुङगुर)लाई लखेटेर मुःबाहा लुकिगु नाच शुरु गरिन्छ । नाच शुरु गर्नु अगाडि खुल्ला ठाउँमा छोडि लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी विधिवत रुपमा पूजा गरि बलि दिने गरिन्छ । त्यसपछि क्रमिकरुपमा भैरब, काली र गणेशको नाच प्रर्दशन गरिन्छ यो नाच मध्यरातमा गरिन्छ ।
धान रोपाई नाच
ब्रम्हायणी, महेश्वरी, कुमारी र भद्रकाली(विष्णुदेवी) देवताहरुको धान रोपाई नाच देखाइन्छ । बम्हायणीलाई नवदुर्गाको सृष्टीकर्ताको रुपमा पुजिन्छ । पूजाआजामा सर्वप्रथम जन्मदाता बम्हायणी माताको नाचबाट शुरु हुन्छ । त्यसकारण भक्तपुरमा बडादशैमा ब्रम्हायणी पिठबाटै नवदुर्गा नाच शुरु हुन्छ । कुमारीले नवदुर्गा गणभित्र चेलीबेटीको भूमिका निर्वाह गरेको देखिन्छ । परिवारजनमा चेलीले गरिरहेको व्यवहार यस नाचमा प्रदर्शित हुन्छ । परिवारमा खाना बाँडेर दिने, सरसफाइ गर्ने, श्रृंगारहरु गर्ने जस्ता सबै कार्य कुमारीलाई जिम्मेवार दिएको हुन्छ । अरुलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले कुनै बेला खाली भएको पात्र दिंदा चित्त दुखाई विलाप गरी कुमारी तुलेगु(कुमारी विलाप) नाच प्रर्दशन गरिन्छ । साथै नवदुर्गा नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीको रुपमा पनि पुजा गरिन्छ । भद्रकालीलाई कृषि कार्यको प्रतिकको रुपमा देखाइन्छ । कुनै प्राणी बाच्नको लागि खानपान आवश्यक पर्छ भन्ने भावना अनुरुप यो नाचमा प्रस्तुत गरिन्छ । नवदुर्गा गणमा महेश्वरीदेवीलाई शाकाहारी देवीको रुपमा पुजिन्छ । रंग शान्तिको प्रतिकका स्वरुप यिनलाई गंगाजस्तो पवित्र भएर छुट्टै पहिचान भएकी देवीको रुपमा मानिएको हन्छ ।
बाराही नाच
बाराही देवताको घरको महिलाको रुपमा भूमिका विषेशबारे नाच प्रर्दशन गरिन्छ । सानैदेखिको बेल बिवाह, सूर्य विवाह, बुहारीमा हुनुपर्ने व्यवाहारिक ज्ञान आदि गतिविधिहरु यिनले प्रर्दशन गरिन्छ । बुहारीले सासुलाई गर्नपर्ने आदर सम्मान र शिष्टता आदि बाराही नाचमा प्रर्दशन गरिन्छ । साथै घर परिवार नारीबाट नेतृत्व निभाउनुपर्ने व्यवहारमा पनि बाराही नाचमा समेटिएको हुन्छ ।
माछा मार्ने जात्रा
सिम्ह, दुम्हले माछा मार्ने नाच देखाइन्छ । सिम्ह दुम्हको प्रतिकको रुपमा भिमसेन र द्रौपतिको रुपमा बाराही र कुमारी जोडीको रुपमा रहेका हुन्छन् । यस नाचमा दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भिमसेनको रुपमा भूमिका निभाउँछ । सिम्हले बालबालिकाहरुका क्रियाकलप प्रर्दशन गरिन्छ । जात्रा हुँदा बाटोमा पैसा मागिरहने सिम्ह द्रौपतिको पनि भूमिका निभाउँछ । श्रीमान श्रीमती विच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार सिम्ह दुम्हको ङा लाकेगु जात्रामा प्रर्दशन गरिन्छ ।
महाकाली नाच
महिषासुर दानव नारीको क्रोध र सन्दर्भमा युद्धको भूमिका तरवार नाच, पातालको चान र तीन नेत्रको क्रोध नाच देखाइन्छ । महाकालीलाई यस देवगणकमा सबैभन्दा क्रोधी देवीको रुपमा प्रस्तुत गरिुन्छ । यस नाचमा नारीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको नाच प्रर्दशन गरिन्छ । कुनै पनि जात्रामा आफूले कुनै बली नपाउँदा रिसाई फर्कने देवीको रुपमा देखाइन्छ । भैरवको अनुपस्थितिमा महाकाली देवीबाट पनि कार्य सञ्चालन हुन्छ भन्ने देखाइन्छ ।
श्वेत भैरबको गा त्वःकेगु (खास्टो लुट्ने) नाच
मानव जीवनमा सरसफाई महिलाहरुको श्रृङ्गार गर्ने विषयमा आधारित नाच देखाइन्छ । महाकालीले महिषासुरको वध गरी सकेपछि रगताम्य महाकाली देवी आफ्नो वस्त्र सफा गरी रहेको बेला श्वेत भैरब भन्ने सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको हुन्छ । आफूलाई लुकी छिपी हेरेर जिस्काएपछि महाकाली श्वेत भैरवसँग क्रोधित हुन्छ र श्वेत भैरबको खास्टो लुटेर लिन्छ । श्वेत भैरबले जति फकाए पनि महाकाली खास्टो फर्काउन मान्दैन ।
खास्तो फिर्ता लिने नाच
महाकालीलाई मनाउन श्वेत भैरब बाटोबाटोमा पैैसा उठाउन थाल्छ र पैसा चढाएर मनाउन खोज्छ । क्रोधित महाकाली मान्दैन र भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । भैरबले त्यही पैसाले भाले कुखुरा किनेर महाकालीलाई चढाउँछ । महाकालीले मुखबाट भालेको टाउको छुट्र्याई बली लिन्छ र भैरबले आफ्नो खास्तो फिर्ता पाउँछ । यस कथालाई जीवन्त दिँदै नाच प्रर्दशन गरिन्छ । सिम्ह दुम्ह बालकुमारी, स्वेत भैरब र महाकालीबीच विशेष पूजा गरी श्वेत भैरब नाच प्रर्दशन गरिन्छ ।
माछा मार्ने शिक्षा दिने नाच
सिम्ह, दुम्ह आफ्नो मित छोरालाई शिक्षा दिई माछा मार्ने जात्रा शुरु गर्न पानी फाल्ने नाच देखाइन्छ । सिम्ह दुम्हको स साना केटाकेटीपनको चकचके नाच जिद्धिपन ठूलाबडासँग जिस्किने नाच प्रर्दशन गरिन्छ । पछि स्वेत भैरबबाट माछा मार्ने जात्रा शुरु गर्न माछा राखेको बाँसको ढक्की बोक्दै माछा मार्ने जात्रा गरिन्न्छ । माछा मारेर मित छोराहरुलाई अगाडि बोलाई आफू एक्लैले मात्र माछा खान्छ र माछा खाने भाषाको बोलमा सिम्हले सराप दिने गर्छ ।
श्वेत भैरबको पेट दुख्ने नाचः(प्वाः स्याकिगु)
श्वेत भैरबको छटपतिरहेको बेला मित छोराहरु सिम्ह दुम्हकै सहयोगबाट क्षमा मागी आफ्नी श्रीमती बालकुमारी(इन्द्रायणी)लाई बोलाई अक्षता (जाकी ह्वयकेगु) गराइन्छ । र निको हुने नाच देखाइन्छ । यसपछि श्वेत भैरब र इन्द्रायणीको मतिना(प्रेम) नाच प्रर्दशन गरिन्छ । आफ्नो लुगा धुन सिम्ह दुम्हको सहयोग मागिन्छ । लुगा धाइदिन्छु भनेर लिएर फालिदिन्छ । लुगा फाल्ने, गिज्याउने बानीबाट दिक्क भई मित छोराछोरीलाई गाली गरी आफैले लुगा धुने नाच प्रर्दशन गरिन्छ ।
समापन नाच
श्वेत भैरबको छोटो नाच देखाइन्छ र माछा मार्ने जात्रा सम्पन्न गरिन्छ । त्यसलगत्तै पूर्ण सम्पूर्ण देवगणहरु अन्तिम देवगण नाच प्रर्दशन गरी स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय जयकारका साथ धुप अगरबत्ति बाली देवगृह पु¥याउने चलन छ ।
करिव ६ महिना नियमित रुपमा सञ्चालन गर्ने यो नाच तान्त्रिक विधिविधान मात्र नभएर मानविय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नृत्य हो । जसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरिन्छ । विषेशतः यो नाचले मल्लकालिन समयको संयुक्त परिवारलाई पनि इंगित गर्ने ईतिहासविद एवम् संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । “समाजमा नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यहरुलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निस्कासित गर्ने सम्मको भूमिका निभाइन्छ, उनले भने, “यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।”
यो जात्राले मल्लकालिन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने मायाप्रेम, समाजिक मर्यादा, रितिरिवाज, भेषभुषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरेको पाइन्छ । यस्तो कठोर नियमलाई पालना गर्दै बनमाला समुदायले आजसम्म यसलाई जीवन्त राखेको छ । भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहरुको सामना गर्नुपर्छ । जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिन्छ । नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि हुरु हुन्छ भने सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्ण सँगै सिन्हाज्या पनि शुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट गस्रित हुने देवगण नाईके ब्रिजेश बनमाला बताउँछन् ।
नवदुर्गाको नाचबारे प्रचलित किंवदन्ती अनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रम्हायणी जोल भन्ने जंगल थियो । सो जंगलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गा गण प्रकट भई नाच्ने र जंगलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगवली लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगवली लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै देवगणको दर्शन गरी पुजा गर्न पाउँ भनी विन्तीभाव गर्दा देवगणले मानेपछि आचाजुले आफ्नो तन्त्रले सबै देवतालाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदाय पुजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ । आचाजु भएसम्म नित्य पूजा भयो तर त्यसको मृत्युपछि पुजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगवली लिन थाले । भागवलीकै लागि नवदुर्गाले मनुष्यको रुप धारण गरी नालाका मानिसहरुलाई त्यो जंगलमा लाने र भगवली लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।
एकदिन नालामा नवदुर्गाले भोगवली दिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछ । कारणबस त्यो ब्राहमण आचाजुको घरमा पुगेछ । घरको अवस्था देखेर उनले आचाजुको घरमा खोजनीति गर्दा एउटा कोठामा कलाली भेटाएछ । उनले पनि तान्त्रिक मन्त्रद्धारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो वासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित रुपमा नित्यकर्म पूजा पाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेलामा उनको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चालपाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुगुरको भोगवली लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुन र्फकन आग्रह गर्छ । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनु पर्छ भनी उनले सबै गण समावेश भएको गणखा(बनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किवदन्ती रहेको छ । किवदन्ती अनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टिका) धारण गरेपछि देव प्रतिनीधि हुन पाउने छ । यसकारण नवदुर्गाको मु बाहाका रुपमा सुगुरलाई लिएको हो ।
पछिल्लो समय विभिन्न कारणले गर्दा वर्षेनी जात्रा देखाउनुपर्ने ठाउँहरुमा जान नसकेको बनमालाहरु बताउँछन् । उनीहरु अहिले भक्तपुर नगरका २१ ठाउँ सहित काठमाडौंको जयबागेश्वरी, बनेपा, धुलिखेल, साँखु लगायतका ठाउँहरुमा प्रत्येकवर्ष जाने गरेता पनि थिमिलगायत केही स्थानमा बन्द भएको नाईके ब्रिजेश बताउँछन ।
यो नाचको संरक्षण र सम्बद्र्धको लागि गुठि संस्थान, भक्तपुर नगरपालिका र संस्कृति मन्त्रालयले सहयोग गुर्नपर्ने बनमालाहरु बताउँछन् । यसलाई राज्यले विषेश बन्दोबस्त गरिदिनुपर्ने उनीहरुको माग छ । “भोको पेट र नाङगो खुट्टाले मात्र नियमिति ६ महिनासम्म प्रर्दशन गर्ने बनमाला समुदायको स्वास्थ्य स्थिति एकदमै नाजुक अवस्थामा रहेको छ । खाना खान नमिल्ने खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भईरहको छ ।” उनले भने, “आयस्रोत नभए कारण मागेर जात्रा सञ्चालन गर्न बाध्य भएका छौं ।”
यो जात्रा सञ्चालन गर्न गुठी संस्थानले १४ वटा मु बाहा किन्नका लागि वर्षैनी ४२ हजार सहयोग दिईरहेको नाईके ब्रिजेश बताउँछन । नवदुर्गा नाच सम्बन्धी कुनै पनि लिखित दस्तावेज तयार नहुँदा बनमाला समुदायका जेष्ठ सदस्यहरुको मृत्युपछि यो नाचको विधि संकटमा पर्ने स्थितिमा रहेको छ । यो नाचलाई कालान्तरसम्म जिवन्त राख्न र नयाँ पुस्तालाई यो नाच हस्तान्तरण गर्दै जान स्थायी खालको नियमित आयस्रोतको बन्दोबस्त गर्न जरुरी छ । राज्यले पनि विभिन्न सुविधा दिएर नयाँ पुस्तालाई नाच सञ्चालन गर्न अभिप्रेरित गर्न आवश्यक देखिन्छ ।
– लक्ष्मी गारु