मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस – नगरप्रमुख र उपप्रमुखको छुट्टाछुट्टै कार्यक्रम

भक्तपुर । आपसी टकरावका कारण मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन । नगरप्रमुख मदनसुन्दर श्रेष्ठ नेतृत्वले मध्यपुर थिमि–४, बालकुमारीबाट -यालीसहित चपाचोमा सम्मान कार्यक्रम गर्दै स्थापना दिवस मनाए भने उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वको टोलीले नेपाल कोरिया मैत्री अस्पतालमा फलफुल वितरण गरी स्थापना दिवस मनाए ।

नगरप्रमुख नेतृत्वको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु मध्ये वडा नंं. ५ र ७ का वडाअध्यक्षको सहभागिता रहेको थियो भने उपप्रमुख नेतृत्वको कार्यक्रममा नगरका १, २, ३, ४, ६ र ९ वडाका वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु र बहुमत वडासदस्यहरुको सहभागिता रहेको थियो ।

मध्यपुर थिमि नपामा नगरप्रमुख श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन भने उपप्रमुख मधिकर्मीसहित बहुमत वडाअध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरु नेपाली कांगे्रसबाट निर्वाचत भएका हुन ।

२१ औं हो की २२ औं तत्कालिन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेसहित पाँच गाविस समायोजनगरी २०५३ चैत्र १४ गते मध्यपुर थिमि नगरपालिका घोषणा गरिएको हो । मध्यपुर थिमि नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउनेक्रममा २०७१ सालमा १९ औं स्थापना दिवससँगै साक्षर नगर घोषणा गरिएको थियो । त्यसैगरी नपाले २०७२ सालमा २० औं, २०७३ सालमा २१ औं स्थापना दिवस मनाएको थियो ।

तर बुधवार नपाको स्थापना दिवस मनाउने क्रममा उपप्रमुख मधिकर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा २२ औं उल्लेख गरिएको थियो भने चपाचोमा आयोजित कार्यक्रममा २१ औं उल्लेख गरिएको छ ।

परम्परागत वाद्यवाधन र नाचका गुरु सम्मानित
चपाचोमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले नगरका विभिन्न परम्परागत वाद्यवाधन, ऐतिहासिक नाचका गुरुहरु सहित संस्कृतिकर्मीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा मध्यपुर थिमिका सांस्कृतिक धरोहर एवम् वाद्यवाधन तथा नाच गुरु श्रीगोपाल प्रजापति, भक्तबहादुर घजू, काजी नरसीं कौडी, बुद्धिकुमार राजबहाक, अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, जगतकृष्ण चरीशंकर श्रेष्ठ, बुद्धिकुमार सिपाही, नारायणभक्त धौबञ्जार रहेका छन । त्यसैगरी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका बुद्धिकृष्ण बाग श्रेष्ठ, संस्कृतिकर्मी गणेशराम लाछी, सहकारीविज्ञ कैलाशभक्त प्रधानांग, पूर्व विशिष्टश्रेणीका कर्मचारी भानु आचार्य, नगरस्थापना गर्न अभियान चलाउने नविनप्रकाश श्रेष्ठलाई समेत उनीहरुको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

नगरप्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप
पछिल्लो समय मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरु आरोप प्रत्यारोपमा उत्रेका छन । नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रमुख मदनसुन्दर श्रेष्ठले एकलौटी र स्वेच्छाचारी ढंगले नपा सञ्चालन गरेको आरोप लगाएका छन । उनले आज नपाको प्रांगणमा पत्रकार सम्मेलन गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कार्यपालिकाको नियमित बैठकबसी बैठकको निर्णय अनुसार नपा सञ्चालन गर्नुपर्नेमा प्रमुखले बैठक समेत नराखी एकलौटी र मनोमानी ढंगले नपा सञ्चालन गरेको आरोप लगाउँदैं नगरप्रमुखको नेतृत्वमा भएको स्थापना दिवस समेत बहिष्कार गरेका छन । उनले भने, ‘नपाको स्थापना दिवस मनाउने र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमका लागि समेत नगरप्रमुखले कार्यपालिकामा छलफल समेत गर्नुभएन । उहाँले एकलौटी ढंगले निर्णय गर्नुभयो । त्यसमा हाम्रो आपत्ती छ । त्यसैले हामीले त्यो कार्यक्रम बहिष्कार गर्दै अस्पतालमा फलफुल वितरणको छुट्टै कार्यक्रम राखेका हौं ।

यता चपाचोमा आयोजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले बहुमतको दम्भ सह्य नहुने बताए । उनले भने, ‘जनताको पक्षमा काम गर्न बहुमतले रोक्न खोजे त्यसलाई जनताको बीचमा नै ल्याउँछौं ।’ उनले बैठक बसौं भन्दा नमानेकोले एक्लै निर्णय गरेर कार्यक्रम आयोजना गरेको दावी समेत गरे । उनले भने, ‘स्थापना दिवसको बारेमा छलफल गरौं भन्दा उहाँहरुले मान्नु भएन त्यसैले कर्मचारीसँगको छलफलमा कार्यक्रम तय गरेका हौं ।’

पत्रकारितामा समावेशी विषयक तीन दिने अभिमुखीकरण भक्तपुरमा


भक्तपुर फागुण २० गते ।
सूचना विभागको आयोजनामा भक्तपुरमा नेपाली पत्रकारितामा समावेशी विषयमा तीनदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन भएको छ । कार्यक्रममा सूचना बिभागका महानिर्देशक विरबहादुर राईले यो तिन दिने अभिमुखीकरण तालिमले सहभागीहरुलाई समावेशी समाचार लेखनमा अझ तिखारिएको बिश्वास लिएको बताउनु भयो । संविधानले नै सबै क्षेत्रमा समावेशीलाई जोड दिइसकेकाले सञ्चार क्षेत्रलाई पनि समावेशी बनाउन सरकार लागिपरेको बताउनु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयोजनमा भएको कार्यक्रममा भक्तपुरमा क्रियाशील ४० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । अभिमुखीकरणमा वरिष्ठ पत्रकार सुरेश आचार्यको नेतृत्वमा डा. विजय मिश्र, डा. राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

स्थानीय तहलाई संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड्

भक्तपुर, १८ फागुन । स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने बताएका छन ।

रफत सञ्चार क्बल (शुक्रवार) गरेको साक्षत्कार कार्यक्रममा स्थानीय तहका जनप्रनिधिहिरुले संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार प्रदान गरे पनि कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे ।

जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले संविधानले जिल्ला समन्वय समितिलाई जिल्लामा भएका स्थानीय तहको अनुगमन, मूल्याकन र निरिक्षण गर्ने अधिकार प्रदान गरेको उनले बताए ।

उनले कतिपय जिल्ला समन्वय समितिको काम गर्न प्रदेश कानुनको आवश्यक्ता हुने भएकाले प्रदेश कानुन छिटो निर्माण हुनुपर्नेमा जोड दिए ।

नेपाल नगरपालिका संघका संयोजक अशोक ब्यञ्जुले स्थानीय तहमा कर्मचारीकै अभावमा सोचे जत्तिको काम गर्न नसकिएको स्पष्ट गरे । तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले पनि कतिपय स्थानीय तहका नगरसभा बस्दै गरेको र उक्त नगरसभाले कानून निर्माण गरेर काम गर्ने बताए ।

कुनै पनि नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति प्रमुखहरुले हस्तक्षेप नगरेको दाबी गर्दै केही नगरपालिकामा कानुन छ न्यायीक समिति छैन त कुनै नगरपालिकामा न्यायीक समिति बने पनि कानून निर्माण नभएको उनले बताए । अहिलेका स्थानीय तह नयाँ भएकाले क्रमिक रुपमा विकास हुँदै जाने उनको भनाइ छ ।

चित्रकला प्रतियोगिता सम्पन्न

चित्रकला प्रतियोगिता

भक्तपुर, १९ फागुन– नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको आयोजनामा “क्षयरोग नियन्त्रणमा मेरो दायित्व विषयक चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।

संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुरका ११ वटा विद्यालयका ३९ जना विद्यार्थीहरुले भाग लिएको जानकारी  कार्यक्रम संयोजक विजय कर्माचार्यले  दिनु भयो ।

ऐतिहासिक नगर भक्तपुरको दरबारस्क्वयरमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरु चेतनाका सम्वाह भएकोले चित्रमार्फत क्षयरोग सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गरिएको चित्रकला प्रतियोगिताको नतिजा फागुन २० गते सार्वजनिक गरिने र पुरस्कार र प्रमाणपत्र विश्व क्षयरोग दिवसको अवसरमा चैत्र १० गते हुने कार्यक्रममा प्रदान गरिने निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

– बाबुकाजी श्रेष्ठ