बोडेको पलेस्वाँ पुखुःमा डुंगा सरर

बोडेको पलेस्वाँ पुखुःमा डुंगा सरर

भक्तपुर : मध्यपुर थिमि–८ बोडेस्थित पलेस्वाँ पुखुः (कमलपोखरी) मा डुंगा सञ्चालन गरेको छ। मध्यपुर थिमि नगरपालिकाले दुई वटा डुंगा स्थानीय उपभोक्तालाई सहयोग गरेसँगै पलेस्वाँ पुखुःमा शुक्रवारदेखी डुंगा सञ्चालन गरेको हो।


बोडेको कुमारी मन्दिर परिसरका साथै मध्यपुर थिमि नगरभित्र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पलेस्वाँ पुखुःमा डुंगा सञ्चालनमा ल्याएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। कुमारी परिसर र पलेस्वाँ पुखुःको सौन्दर्यले स्थानीय आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेसँगै थप सुन्दरतालाई बढाउन र पुखुःलाई जिवन्त बनाउन नगरपालिकाले स्थानीय युवा उपभोक्ता मार्फत डुंगा सञ्चालनमा ल्याएको नगरप्रमुख श्रेष्ठले बतए। उनले डुंगा सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक संख्यामा बृद्धि हुने विश्वास व्यक्त गरे।


कमलपोखरीमा फुलेको कमलको फुल बोडेस्थित तलेजु देवीलाई चढाउने परम्परा रहेको छ। ‘यो पलेस्वाँ पुखुःमा फुलेको फुल स्थानीय लायकू दरबारमा रहेको तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फुल चढाएर जात्रा चलाउने परम्परा छ,’ स्थानीय बासिन्दा एवं वडाध्यक्ष रामकाजी चक्रधरले भने।


तत्कालीन बोडे गाउँ पञ्चायत वडा—६ को कित्ता नं १ को पलेस्वाँ पुःखु १५ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको छ। वि. सं. २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामाबाट मनाङ घरभई काठमाडौँको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा बिक्रि भएको थियो। जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा रजिष्ट्रेसन पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा पुखुः बिक्रि गरेको पाइएको छ। खरिदकर्ताले घर बनाउन भन्दै पोखरी पुर्न थालेपछि स्थानीयले सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गरी बिक्रि समेत भइसकेको जानकारी पाएका थिए।


धार्मिक महत्वको ऐतिहासिक पुखुः व्यक्तिले दर्ता गरी नीजि बनाई सकेको अवस्थामा नगरपालिकामा जनप्रतिनिधिहरुको बहालीसँगै पुखुःलाई पुनः सार्वजनिक कायम गराउन कानुनी उपचार खोजिएको थियो। नगरपालिकाको अगुवाईमा स्थानीय संघर्ष समितिले भक्तपुर जिल्ला अदालतमा पुखुः सार्वजनिक कायम हुनुपर्ने माग दावीसहित रिट दर्ता गरिएको थियो। सोही मुद्दामा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते मंगलबार न्यायधीस मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त ‘पलेस्वाँ पुखु’ सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो।


फैसला लगत्तै नगरपालिकाले संरक्षणको कार्य थालेको थियो। नगरपालिकाले तत्काल पुखुःको सिमांकन छुट्याई चारैतर्फ पर्खाल लगाउन थाल्यो। पुखुः पुरानै स्वरुपमा फर्केपछि हालै स्थानीय युवाहरुले पुखुःभित्रको घाँस, झारपात उखेलेर सफा गरेको थियो। पुखुःको स्वामित्व विवाद सम्बन्धी मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधिन अवस्थामा छ।


पुखुःमा डुंगा सञ्चालन गर्न स्थानीय उपभोक्ताको माग बमोजिम २ वटा डुंगा नगरपालिकाले खरिद गरेर अनुदान दिईएको नगर प्रमुख श्रेष्ठले बताए। उनले भने, एउटा डुंगाको मूल्य २ लाख ५० हजारमा खरिद गरेको हो।
स्थानीय युवाहरुको उपभोक्ता समितिले प्रतिव्यक्ति २५ रुपैंया शुल्क लिएर डुंगा सयर गर्ने व्यवस्था गरेको छ। डुंगा चढ्दा बालबालिका र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको नगरप्रमुख श्रेष्ठले बताए। डुंगा सञ्चालन सम्बन्धी बाँकी व्यवस्थापन र कार्यविधि निर्माण स्थानीय उपभोक्ता समितिले गर्ने छ, नगरप्रमुख श्रेष्ठले भने।


नगरपालिकाले चालु आर्थिक वर्ष पुखुः संरक्षणका लागि ७५ लाख रुपैंया विनियोजन गरेको छ। पुखुःलाई आकर्षक बनाउन पुखुःको चारैतीर ढलान गरेर मर्निङवाक गर्न सकिने गरी फुटपाथ निर्माण गरिएको छ। फुटपाथको निर्माणपछि साँझ बिहान पुखुःमा टहल्ने स्थानीयको भिड लाग्ने गरेको छ। पुखुःको थप आकर्षणको लागि हालै २० हजार माछाका भुरा छाडिएको छ।