इन्द्रदहमा दर्शनार्थीको भिड

इन्द्रदहमा दर्शनार्थीको भिड

भक्तपुर : भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह (सिद्धपोखरी) बिहानैदेखी दर्शनार्थी भक्तजनको भिड लागेको छ। हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ।


ईन्द्रजात्राको दिन साँझ खौमास्थित ईन्द्रायणी देवीलाई बाजागाजा सहित इन्द्रदह पुर्याएर तान्त्रिक विधिपूर्वक पुजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ। सोही अनुसार आइतबार साँझ ईन्द्रायणी देवीलाई इन्द्रदह पुर्याएको थियो। इन्द्रदहमा नुहाएर ईन्द्रायणी देवीको दर्शन गर्ने सोमबार भक्तजनको भिड लागेको हो।


देवराज इन्द्रले स्नान गरेको दहको प्रतिकको रुपमा लिने भएकाले स्थानीयले यसलाई ईन्द्रदहको रुपमा समेत लिने गरेको छ। ईन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पुजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ। इन्द्रदहमा वासुकी नागको बसोबास समेत रहेको विश्वास गरिन्छ। त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्धारा वासुकी नागको पुजा गर्ने प्रचलन समेत रहेको छ।


इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन्। त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको छ।

गणेश र चन्द्रमाको पुजा गर्दै चथाः मनाउँदै नेवार समुदाय

गणेश

भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा शुक्रबार नेवार समुदायले धुमधामका साथ चथाः पर्व मनाउँदैछन्। गणेश चतुर्थीले समेत परिचित आजको दिन नेवार समुदायले गणेश र चन्द्रमाको पुजा गरी जीवनमा चोर दोष नलागोस भन्ने कामना समेत गर्दछन्।


चतुर्थीको दिन नेवार समुदायले बिहानै घर चोख्याएर गणेशको पुजा गर्दछन्। भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको दिन गणेशलाई दुवो, लड्डु र मुला चढाईन्छ। यसो गर्दा भगवान गणेश खुसी हुने र जीवनमा चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ।


यस दिन बेलुका नेवार समुदायले चथा गणेश र चन्द्रमाको पुजा गर्ने परम्परा रहेको छ। पूजामा गणेशलाई दशै चढाउने फलफुल, मिठाई, लगायतक आठ थरिका भुटेका गेडागुडी चढाइन्छ। घरका सबैजना बसेर ती सबै चढाएका खाद्यवस्तु प्रसादको रुपमा खाने चलन रहेको छ। प्रसाद खाईसकेपछि परिवारका सबै जना सदस्यहरु लाइनले बसेर दशै भित्र्याउने भनी सगुन सहितको भोज खाने परम्परा छ।


नेवार समुदायमा चन्द्रमाको पुजा गर्ने दुई वटा परम्परा रहेको छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घर भित्र छिर्न नसक्ने गरी लुकेर पुजा गर्ने गर्दछन्। अर्को थरी समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र चथा पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ।

राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।


पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन्। गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो। त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो। यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो। त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे। चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखी भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए।


गणेशले राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ।


आज कै दिन ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट ल्याईन्छ। लिंगेवनमा विधिपूर्वक बोकालाई पुजा गरी छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनु पर्ने परम्परा रहेको छ।