पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न

भक्तपुरः ईन्द्रजात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ। पुलुकिसी जात्रासँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ। स्थानीय लाकुलाछें टोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर कुमाले टोल, बुलुचा, नासमना, बंशगोपाल, इटाछे, दरवारस्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका लगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ।

भक्तपुरको लाकुलाछें टोलका स्थानियले बा“सको मान्द्रो माथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी पुलुकिसी तयार गरिन्छ। जात्रा सुरु गर्नु अघि तमारीको आकाश भैरवलाई बली सहितको सरकारी पुजा गरिन्छ। पुजा सम्पन्न भएपछि पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसी भित्र घण्टा बजाएर आकाश भैरव मन्दिर अगाडी तीन पटक घुमेर जात्रा सुरु गरिन्छ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई बंशगोपाल, ईटाछें, चोछें, भोलाछें लगायतका दोबाटो चौबाटोमा धान खुवाउने, तमारी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ। जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ।

त्यसैगरी आज पुलुकिसी जात्रासँगै भक्तपुर तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा समेत गरिन्छ। खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर गुठी संस्थाबाट भैरवलाई विधिवत रुपमा बली सहितको पूजा गरी खट जात्रा सुरु गरिन्छ। जात्रासँगै स्थानिय तल्लो टोलको मानंन्धर समुदायले बुलुचा स्थित धुङगेधारामा एक जोडा याँमता (आकाश दिप) बाली तीन दिन मनाईने मूपात्र जात्रा समेत सम्पन्न गरिन्छ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ।

देवीपुराण गन्थ्र अनुसार इन्द्रजात्रासँग सम्वन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाइने गरेको इतिहास सँस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

यो पनि पढ्नुहोस् :