तान्त्रिक विधि विधानयुक्त ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा गणनाच

भक्तपुरको मौलिक एवं साँस्कृतिक महत्वको लिच्छवीकालीन नवदुर्गा देवगणको ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) नगरका विभिन्न भागमा प्रदर्शन भईरहेको छ । तान्त्रिक विधि विधानको माध्यमबाट मानव शरीरमा विधिवत देवत्व प्रतिष्ठापित गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलीपल्ट भक्तपुर सुर्यमढीमा पहिलो प्रदर्शनसँगै शुरु हुन्छ । यो जात्रा करिव साँढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा र त्यसपछि भक्तपुर बाहिरका काठमाडौं बागेश्वरी, बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, टोखा, नालालगायत विभिन्न स्थानमा प्रदर्शन गरिन्छ ।

मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छन् । जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छन् । नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः भनिन्छ, जुन महालक्ष्मीको प्रतिक हो । नवदुर्गा देवगणमा भैरव (कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, ताः बाजा, कायँः बाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छन् । त्यसमा अन्य सहयोगीहरु समेत थप हुन्छन् ।

विषेशगरी यो नाचमा प्रारम्भिक नाच, धान रोपाई नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरबको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्तो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः (प्वाः स्याकिगु), समापन नाच प्रदर्शन गरिन्छन् । यी नाचहरु प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, श्रीमान श्रीमती विच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार, नारी शक्ति, महिलाहरुको श्रृङ्गार, केटाकेटीको चकचके र जिद्धिपन, माया प्रेम र हर्ष उल्लासका भाव प्रस्तुत गरिन्छन् ।

करिव ६ महिना नियमित रुपमा सञ्चालन गर्ने यो नाच तान्त्रिक विधिविधान मात्र नभएर मानविय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो । जसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरिन्छ । विषेशतः यो नाचले मल्लकालिन समयको संयुक्त परिवारलाई पनि इंगित गर्ने ईतिहासविद एवम् संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । घरमुली (नंकी) को दायित्व र महत्वसँगै उनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यहरुलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निस्कासित गर्ने सम्मको भूमिका निभाइन्छ,” उहाँले भन्नुभयो, “यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।”

यो जात्राले मल्लकालिन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने मायाप्रेम, समाजिक मर्यादा, रितिरिवाज, भेषभुषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरेको पाइन्छ । यस्तो कठोर नियमलाई पालना गर्दै बनमाला समुदायले आजसम्म यसलाई जीवन्त राखेको छ ।

भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहरुको सामना गर्नुपर्छ । जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिन्छ । नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि हुरु हुन्छ भने सिथी नखाःमा समापन हुन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट गस्रित हुने, देवगण नाईके ब्रिजेश बनमाला बताउँछन् ।

नवदुर्गाको गणनाचबारे प्रचलित किंवदन्ती अनुसार भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरबाट नवदुर्गा गण प्रकट भई नाच्ने र सो क्षेत्रको जंगलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगवली लिने कारण जनजीवन भयावह अवस्थामा पुगेको थियो । एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो जाँदै गर्दा नवदुर्गाले भोगवली लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै देवगणको दर्शन गरी पुजा गर्न पाउँ भनी विन्तीभाव गर्दा देवगणले मानेपछि आचाजुले आफ्नो तन्त्रले सबै देवतालाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायमा पुजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई आफ्नै घरमा लगेछ । आचाजु भएसम्म नित्य पूजा भयो तर उनको मृत्युपछि पुजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगवली लिन थाले ।

एकदिन सोमराज नाम गरेका एकजना ब्राह्मणले आचाजुको घरको अवस्था देखेर उनले खोजनीति गर्दा एउटा कोठामा कलाली भेटाएछ । उनले पनि तान्त्रिक मन्त्रद्धारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर घर लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित रुपमा नित्यकर्म पूजा पाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेलामा उनको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेरे सोही बेला देवगण लोप भएर त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुगुरको भोगवली लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः र्फकन आग्रह गर्छ । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनु पर्छ भनी उनले सबै गण समावेश भएको गणखा (बनमाला समुदाय) लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किवदन्ती रहेको छ । किवदन्ती अनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टिका) धारण गरेपछि देव प्रतिनीधि हुन पाउने छ । यसकारण नवदुर्गाको मु बाहा: (मुख्य बली) का रुपमा सुगुरलाई लिएको हो ।

पछिल्लो समय विभिन्न कारणले गर्दा वर्षेनी जात्रा देखाउनुपर्ने ठाउँहरुमा जान नसकेको बनमालाहरु बताउँछन् । उनीहरु अहिले भक्तपुर नगरका २१ ठाउँ सहित काठमाडौंको जयबागेश्वरी, बनेपा, धुलिखेल, साँखु लगायतका ठाउँहरुमा प्रत्येकवर्ष जाने गरेता पनि थिमिलगायत केही स्थानमा बन्द भएको नाईके ब्रिजेश बताउँछन ।

नवदुर्गा नाच विजयादशमीको दिनदेखि शुरु भई गठेंमगंल अघिको अष्टमीको दिन सम्पन्न हुन्छ । यो नाच चलाउन, उत्पत्ति देखि अन्तसम्म अर्थात वर्ष भरीको पर्व पूजा चलाउन १९ जना देवगणहरुको आवश्यकता पर्नुको साथै ठूलो राँगो १, खः मे १ गरी २ रांगो, थुमो भेडा ५ वटा, रातो भाले ३५ वटा, बोका २ वटा, मू बहाँ (सुँगुर) १४ वटा आवश्यकता पर्दछ र भोज समेत गर्नुपर्छ, जसको लागि लाखौं रुपैंया खर्च हुने गरेको नाईके ब्रिजेश बताउँछन ।

नवदुर्गाको प्रसाद ग्रहण गर्न २०४६ सालदेखि राष्ट्र प्रमुख कोजाग्रत पुर्णिमाको दिन भक्तपुर—३ गछें स्थित नवदुर्गा भवानीको मन्दिरमा आउने परम्परा रहेको छ । सो अवसरमा राष्ट्र प्रमुख समक्ष समेत आर्थिक समस्यालाई लिएर विन्ति पत्रदेखि ज्ञापन पत्र समेत पेश गरेपनि हालसम्म समस्या समाधान गर्न कुनै चासो नदिएको उहाँले जानकारी दिनुभयो ।

यो नाचको संरक्षण र सम्बद्र्धनको लागि गुठि संस्थान, भक्तपुर नगरपालिका र संस्कृति मन्त्रालयले सहयोग गुर्नपर्ने बनमालाहरु बताउँछन् । यसलाई राज्यले विषेश बन्दोबस्त गरिदिनुपर्ने उनीहरुको माग छ । “भोको पेट र नाङगो खुट्टाले मात्र नियमिति ६ महिनासम्म प्रर्दशन गर्ने बनमाला समुदायको स्वास्थ्य स्थिति एकदमै नाजुक अवस्थामा रहेको छ । खाना खान नमिल्ने खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भईरहको छ ।” नाईके ब्रिजेशले भन्नुभयो, “आयस्रोत नभएको कारण मागेर जात्रा सञ्चालन गर्न बाध्य भएका छौं ।”

यो नाचको मुख्य आय स्रोत नै भक्तजनहरुले चढाउने दान दक्षिणा र भेटी नै हो । यो नाचलाई कालान्तरसम्म जिवन्त राख्न र नयाँ पुस्तालाई यो नाच हस्तान्तरण गर्दै जान स्थायी खालको नियमित आयस्रोतको बन्दोबस्त गर्न जरुरी छ । राज्यले पनि विभिन्न सुविधा दिएर नयाँ पुस्तालाई नाच सञ्चालन गर्न अभिप्रेरित गर्न आवश्यक देखिन्छ ।

– लक्ष्मी गारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *